धान र परालमा आगलागी, ९ लाख ५६ हजार मूल्य बराबरको क्षति

पर्सा । खेतमा धान वा परालको कुन्यू राख्नु भएको छ भने होस गर्नुस् । कुनै पनि बेला यहाँको कुन्यूमा आगलागी हुनसक्छ । धान काटेर थन्क्याउने बेलामा झापामा दिनहुँ धान र परालको कुन्यूमा आगलागी हुने गरेको छ ।आगलागीबाट किसानहरूको लाखौँको धान र पराल जलेर नष्ट भएको छ ।

मंसिर महिनाको करिब अढाई साताको अवधिमा झापाका १५ जना किसानको धान र परालको कुन्यूमा आगलागी भएको हो । मंसिर १ देखि १८ गतेसम्म १५ जना किसानको धान र परालमा आगलागी हुँदा ९ लाख ५६ हजार ५०० मूल्य बराबरको क्षति भएको छ । त्यस्तै कात्तिक महिनामा जिल्लाका ७ जना किसानको धान र परालमा आगलागी भएको थियो । जसबाट ४ लाख ९ हजार मूल्य बराबरको क्षति भएको छ ।

यस आर्थिक वर्षको साउन १ देखि मंसिर १८ गतेसम्म झापामा धान र परालमा २४ वटा आगलागीका घटना भएको र त्यसबाट १३ लाख ७५ हजार ५०० मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धेरै आगलागी अचानक भएका छन् भने केही आगलागी लापरबाहीले भएको पाइएको छ ।

खेतमा रहेको धान र परालको कुन्यूमा अज्ञात व्यक्तिले जानी जानी आगो लगाइदिएको घटना निकै छन् । खासगरी लागू औषधका दुर्व्यसनीहरू त्यस्ता घटनामा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । उनले कतिपय आगलागीका घटना लापरबाहीका कारणले गर्दा भएको जानकारी दिए ।

बिर्तामोड–१० पश्चिम बिराटपोखरमा गत आइतबार धानको कुन्यूमा आगलागी हुँदा करिब एक सय बयालिस मन धान जलेर नष्ट भएको थियो ।सन्तकुमार लोहारले अधिया कमाएको स्थानीय उमाराम शिवाकोटीको जग्गाको धानको कुन्यूमा आगलागी भएको हो। जग्गाधनी शिवाकोटीकी श्रीमती टिका शिवाकोटीले धानको कुन्यूनजिकै खेतमा तोरीको बीउ छर्ने क्रममा बीउमा लाइटर रहेको र सो लाइटर बिउँसँगै ढुङ्गामा बजारिएर पड्किदा आगलागी भएको बताइएको छ ।

यसरी लापरबाहीका कारण पनि आगलागी भएको पाइएको छ । सुख्खा मौसममा धान र परालमा छिट्टै आगो सल्किने भएकाले सबैले सचेत हुनुपर्ने प्रहरी निरीक्षक गिरीले बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.