किसानको पीडा : पर्दैन मनसुनी वर्षा, १५ असारको के हर्ष ?

पर्सा । समयमा वर्षा नभएपछि देशका विभिन्न भूभागका किसानहरू चिन्तित भएका छन् । यसअघिका वर्षहरूमा असार १५ सम्ममा रोपाइँ सम्पन्न भइसक्ने खेतहरू यस वर्ष पानीअभावका कारण बाँझै छन् ।

रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् ।

लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र हेण्डपम्पमा समेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको किसानले बताएका छन् । ‘बोरिङ सुकेर जमिनमुनिको पानी आउन छाड्यो, मनसुनी वर्षा हुँदैन,’ धनगढीका किसान हरि चौधरीले भने, ‘पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।’

धनगढीमा शनिबार खेत जोत्दै गरेको भेटिका चौधरीले कतिपय गाउँ बस्तीमा बोरिङ र हेण्डपम्पबाट पानी आउन बन्द भएको घटना गाउँमा पहिलोपटक अनुभव भएको बताए ।

पर्याप्त वर्षा नभएपछि असार १५ सम्म प्रदेशमा ४० प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशको झण्डै ४४ प्रतिशत जग्गामा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ । सतह सिँचाइ र भूमिगत पानीको सिँचाइसमेत गरी प्रदेशभरि ५६ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।

निर्देशनालयका निमित्त प्रमुख नरेन्द्र पनेरुले पर्याप्त वर्षा नहुँदा यस वर्ष असार १५ सम्म ४० प्रतिशत जग्गामा रोपाइँ भएको जानकारी दिए । उनका अनुसार गत वर्ष असार १५ सम्म ८० प्रतिशत जग्गामा रोपाइँ सकिएको थियो ।

पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी ६६ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २५ प्रतिशत जग्गामा रोपाइँ भएको छ ।

प्रदेशमा एक लाख ७४ हजार पाँच सय ५६ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ ।  जिल्लागत रूपमा सबैभन्दा बढी कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा रोपाइँ हुन्छ ।

सबैभन्दा कम बाजुरा जिल्लामा तीन हजार तीन सय १० हेक्टर जग्गामा रोपाइँ हुन्छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ ।

केही दिनदेखि मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुनसकेको छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.