इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटन
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले वीरगन्जको इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच पन्तले रिबन काटेर कार्यालयको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यालय उद्घाटन पश्चात् उपस्थित जनसमूहलाई सम्बोधन गर्दै सभापति पन्तले इनरुवावासीको आफूप्रति अगाध स्नेह र समर्थन रहेको चर्चा गरे। उनले स्थानीय बासिन्दाहरू स्वतःस्फूर्त रूपमा रास्वपालाई विजयी गराउन लागिपरेकोमा खुसी व्यक्त गर्दै इनरुवावासीको यो माया र विश्वासको सदैव उच्च सम्मान र कदर गर्ने प्रतिबद्धता समेत जनाए।
विजय साहको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा रास्वपा वीरगन्ज महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापति, नेताहरू दिलीप कुर्मी र मुकेश पटेल लगायत अन्य स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।