आफ्नै क्षेत्रमा प्रभु साहको बिचल्ली: विवादित अभिव्यक्तिपछि आक्रोशित मतदाताद्वारा लखेटिए
काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहलाई आफ्नै निर्वाचन क्षेत्रका मतदाताले लखेटेका छन्। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा पुगेका साहलाई कटहरियाका स्थानीयले चर्को नाराबाजी र बिरोध प्रदर्शन गर्दै गाउँबाट बाहिरिन बाध्य पारेका हुन्।
साहले सार्वजनिक कार्यक्रममा विपक्षी नेताहरूलाई लक्षित गर्दै दिएको आपत्तिजनक र ‘अशिष्ट’ भाषणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीप्रति जनआक्रोश बढेको हो। भिडियोमा साहले निकै आक्रामक शैलीमा अन्य राजनीतिक दलका नेतृत्वलाई व्यक्तिगत गालीगलौज गर्दै ‘सात पुस्ता निकाल्ने’ जस्ता धम्कीपूर्ण र अमर्यादित भाषा प्रयोग गरेको देखिन्छ। राजनीतिक नैतिकताको सीमा नाघेर दिएको यस्तै अभिव्यक्तिका कारण उनी आफ्नै क्षेत्रमा असुरक्षित बनेका हुन्।
चुनावी प्रचारका लागि गाउँ पसेका साहलाई स्थानीय युवा र मतदाताहरूले घेराउ गर्दै उनको विवादित बोली र व्यवहारको कडा प्रतिकार गरेका थिए। भिडियोमा देखिए अनुसार, आक्रोशित भीडले उनलाई आफ्नो बस्तीमा प्रवेश गर्न नदिने भन्दै लखेटेपछि साह सुरक्षाकर्मीको सहारामा त्यहाँबाट उम्किएका थिए। जनताको मुद्दामा बहस गर्नुको सट्टा अशिष्ट भाषा र धम्कीको राजनीतिमा उत्रिएको भन्दै स्थानीयले साहको चुनावी घरदैलोलाई अवरोध गरेका हुन्।
यस घटनाले प्रभु साहको राजनीतिक भविष्य र उनको चुनावी साखमा ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ। आफ्नै गढ मानिने क्षेत्रमा यसरी मतदाताबाटै लखेटिनुले उनको ‘गाली-कला’ र धम्कीपूर्ण राजनीतिको कडा सन्देश दिएको विश्लेषण गरिएको छ।