पर्सा । नेपाली चलचित्र ‘लाज शरणम्’ बुधबारदेखि देशभर प्रदर्शनमा छ । केही हप्ताअघि नै प्रदर्शन मिति तय गरेको यो चलचित्रले तय गरिएको दिनसम्म आइपुग्न भने निकै झमेला झेल्नु पर्यो ।
चलचित्रको टिजर र तस्बिर सार्वजनिक भइसकेपछि चरित्र चित्रणप्रति आपत्ति जनाउँदै कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले पाटन उच्च अदालतमा रिट दायर गरे । चलचित्रको तस्बिर र टिजरमा मुख्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आलमको ‘गेटअप’मा देखिएका थिए ।
रिटको सुनुवाइमा अदालतले सेन्सरअघि प्रचारप्रसार रोक्न आदेश नै दिएको थियो । तर, केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएपछि चलचित्र प्रदर्शनको बाटो खुलेसँगै आजबाट ‘लाज शरणम्’ देशभर प्रदर्शनमा आएको हो ।
प्रायः अहिले नेपालमा सञ्चारमाध्यमले अपराध गर्नेहरूका कुकर्मलाई प्रकाशमा ल्याइरहेका छन् । आफ्नो कुकर्मकै कारण नख्खु जेलमा रहेका आलम चलचित्रमा ‘आफ्नै हुलिया’ देखेपछि झस्किएका हुन् । चलचित्र मनोरञ्जनका लागि मात्र नभई सामाजिक सन्देश प्रवाह, संस्कृति झल्काउने र शिक्षाको साधनको रूपमा पनि प्रयोग गरिन्छ ।
त्यसै कारण पनि आफूले गरेको अपराध समाजमा थप फैलिने डरले आलम चलचित्रविरुद्ध अदालत पुगेको जोकोहीले बुझ्न कठिन छैन । चलचित्रले दर्शकलाई मनोरञ्जन त दिन्छन् नै, कहीँ कतै सोच्न बाध्य पार्छन् भने चेतनाको विकास पनि गराउँछन् । घटना लुकाउन मान्छेलाई इँटाभट्टामा जलाउने आलमले चलचित्रमा आफूविरुद्ध आउन सक्ने चरित्र चित्रणलाई पनि उनले लुकाउन बल गरेका हुन् ।
रौतहट–२ उनको राजनीतिक क्षेत्र हो । त्यो क्षेत्रलाई आलमको पारिवारिक राजनीतिक विरासतकै कारण नेपाली कांग्रेसको गढ मानिन्थ्यो । अहिले त्यहाँ आलमको विरासत ढलिसक्यो भने उनी जेलभित्र जन्मकैद भुक्तान गरिरहेका छन् । अहिले चलचित्रसँग त्रसिने आलमले कुनै समय दुनियाँ त्रसित हुने घटना घटाएका थिए ।
दर्शकलाई वास्तविकता नजिकको अनुभव दिलाउन चलचित्रमा वास्तविक वा काल्पनिक चरित्रहरू विकास गरिन्छ । चलचित्रमा आफ्नै ‘चित्र’ देखेपछि आलम त्रसित भए । त्यो चलचित्रभित्र के छ ? चलचित्र प्रदर्शनमै भएकोले दर्शकले सहजै देख्न पाइनै रहेका छन् । तर, चलचित्रले समाजमा सन्देश दिन्छ, प्रेरणा दिन्छ, चेतना तथा ऐतिहासिक तथ्य देखाइदिन्छ भन्ने बुझेरै उनले आपत्ति जनाइदिएका हुन् भनेर बुझ्नेहरू भने कम छैनन् ।
त्यो भयानक घटना
देश संविधानसभा निर्वाचनका लागि होमिएको थियो । कांग्रेसबाट आलम पनि उम्मेदवार थिए । पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा अघिल्लो दिन २७ चैत्र २०६४ मा रौतहटको साबिक राजपुर फरहदवा–४ मा रहेको उनको घरमा बम विस्फोट भयो ।
बम पड्काउँदै त्रास देखाएर बुथ कब्जा गर्ने उद्देश्यअनुसार आलमले बम बनाउन लगाएको बताइन्छ । उनको योजनाअनुसार भारतीयहरूको सहयोगमा बम बनाइरहेका त्रिलोकप्रताप सिंह, ओसी अख्तर मियाँलगायत घाइते भए ।
घर नजिकै आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले आलमले २३ जनालाई आफ्नै इँटाभट्टाको चिम्नीमा जिउँदै हालेर जलाएको अभियोग उनीमाथि लागेको हो ।
उक्त विस्फोटमा घाइतेलाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप लागेको झण्डै १२ वर्षपछि २०७६ असोज २६ मा उनी पक्राउ परेका थिए । उक्त घटनापछि पक्राउ पर्नुअघि उनी रौतहट–२ बाट दुई पटक सांसद हुँदा एकपटक श्रम तथा यातायात मन्त्रीसमेत भएका थिए । नेपाली कांग्रेसले उनको घटनालाई लुकाउन ठूलै जोडबल गरेको थियो ।
सरकारले नै मुद्दा दर्ता नगरेपछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि मात्रै १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’ मा मुद्दा दर्ता भएको थियो ।
त्यसपछि पक्राउ परेका आलम पुर्पक्षका लागि थुनामा थिए । गत १३ वैशाखमा रौतहट जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेसँगै अहिले उनी जेल जीवन बिताइरहेका छन् ।