पर्सा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।
लामिछानेलाई क्यानले अनुशासनको कारबाही गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपलाई एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण सोधिएको बताए ।
जस अनुसार अब सन्दीपले क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।
सन्दीपले हालै सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । यही विषयलाई लिएर क्यानले उनीमाथि कारबाहीको डण्डा चलाएको हो ।
सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।
सन्दीपलाई खेलाडी र क्यानबीच भएको सम्झौताको बुँदा नम्बर २.७ अनुसार कारबाही गरिएको क्यानका प्रवक्ता लामाले जानकारी दिए ।
सम्झौताको बुँदा नम्बर २.७ मा क्यान, एसीसी, आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न नपाइने उल्लेख छ ।