सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र शान्तिको अपील

काठमाडौँ। सुनसरी लगायतका पूर्वी जिल्लाहरूमा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वि.सं. २०८३ श्रावण १२ गते पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिंगो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।

​पार्टीले घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ। साथै, झडप वा घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

​विज्ञप्तिमा कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट पार्दै नेपाली समाजको मुख्य शक्ति नै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भाव भएको उल्लेख छ। रास्वपाले सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न र गराउन सम्पूर्ण आम नागरिक, नागरिक अगुआ, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपील गरेको छ। कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु अहिलेको मुख्य आवश्यकता रहेको विज्ञप्तिमा जोड दिइएको छ।

​यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको रक्षा गर्न र स्थितिलाई सामान्यीकरण गर्न आफूहरू नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको पार्टीले जनाएको छ। घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न, तथा पीडित पक्षलाई उचित न्याय र राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

​शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सदैव अडिग रहने प्रतिबद्धता जनाउँदै रास्वपाले परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न निरन्तर छलफलमा रहेको बताएको छ। साथै, यस दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरूलाई आग्रह गर्दै पार्टीका स्थानीय समितिका सम्पूर्ण सदस्यहरूलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न विशेष निर्देशन दिइएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.