काठमाडौँ । मुलुकको प्रदेश राजनीतिमा नयाँ समीकरण बनेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालन तथा सत्ता साझेदारीका विषयमा महत्त्वपूर्ण र लिखित सहमति जुटेको छ।
शनिबार भएको औपचारिक सहमतिअनुसार दुवै दलले देशका पाँच वटा प्रदेशको नेतृत्व आपसमा बाँडफाँट गरेर अघि बढ्ने निर्णय गरेका छन्। सो सहमतिअनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको कमान सम्हाल्नेछ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को भागमा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व परेको छ।
प्रदेश राजनीतिमा लामो समयदेखि देखिँदै आएको अन्योल अन्त्य गर्ने उद्देश्यले भएको उक्त सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको हो।
दुई ठूला राजनीतिक दलबीच भएको यो सहकार्यलाई आगामी दिनमा प्रदेश सरकार गठन तथा त्यसको दिगो सञ्चालनका लागि एउटा निर्णायक कदमका रूपमा हेरिएको छ। शीर्ष नेताहरूबीच भएको यस सम्झौताले प्रदेशस्तरको समग्र राजनीतिक समीकरणमा नयाँ तरङ्ग ल्याउनुका साथै आगामी दिनमा सरकार सञ्चालनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।