सरकारप्रति पूर्वप्रधानमन्त्री माधव नेपालको असन्तुष्टि: “देशमा सुरक्षा नपाए विदेशिन बाध्य हुन्छु”

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक माधवकुमार नेपालले सरकारले आफूलाई सुरक्षा र सुविधामा बेवास्ता गरेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। पत्रकार विनोद ढुङ्गेललाई दिएको एक अन्तर्वार्तामा उनले राज्यबाट आफूमाथि विभेद भएको गुनासो व्यक्त गरे।

​अन्य पूर्वप्रधानमन्त्रीहरूले सरकारी गाडी र इन्धन सुविधा पाइरहेको भए पनि आफूलाई भने त्यस्तो सुविधा नदिइएको नेपालको भनाइ छ। आफूले कहिल्यै पनि हात जोडेर सुविधा र सुरक्षा नमाग्ने स्पष्ट पार्दै उनले भने, “कानुनले पूर्वप्रधानमन्त्रीलाई सुरक्षा र सुविधा दिनुपर्छ भन्छ भने त्यो दिने दायित्व सरकारकै हो, म हजुर मलाई सुरक्षा चाहियो भनेर माग्न जान्दिनँ।”

“स्वाभिमानभन्दा ठूलो अरू केही हुँदैन”

​आफ्नो स्वाभिमानमा आँच आउन नदिने अडान राख्दै पूर्वप्रधानमन्त्री नेपालले सरकारले सुरक्षा नदिए विकल्प खोज्न बाध्य हुने चेतावनी दिए। काठमाडौँमा सुरक्षा नभए रौतहट जाने, त्यहाँ पनि सम्भव नभए देशका अन्य भाग वा जङ्गलसम्म पुग्न सकिने बताउँदै उनले अन्तिम विकल्पका रूपमा विदेशिन सकिने धारणा राखे।

​विदेश जाँदा स्वाभिमानमा असर पर्दैन र? भन्ने पत्रकारको प्रश्नमा उनले भने, “जब आफ्नै देशको सरकारले अपहेलना, बेवास्ता र अस्तित्वको बेवास्ता गर्छ भने जहाँ सम्मान पाइन्छ, त्यहीँ जाने हो।”

“अपराधीसँग लड्न कि त आफ्नै समूह बनाउनुपर्‍यो”

​आफ्नै देशमा अडिएर जोखिम मोल्ने कि भन्ने प्रसङ्गमा उनले आत्मसमर्पण नगर्ने बताए। “अपराधीहरूसँग लड्ने हो भने कि त मैले आफ्नै ग्रुप (समूह) बनाउनुपर्‍यो, तर त्यो अर्को आवेगको कुरा हुन्छ,” उनले भने।

​अन्तर्वार्ताको अन्तिमतिर उनले हाँसेर आफ्ना उत्तेजित अभिव्यक्तिलाई सामान्य पार्ने प्रयास गरेका थिए। पूर्वप्रधानमन्त्री नेपालको यो अभिव्यक्तिले राज्यले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिने सुरक्षा र सुविधामा पारदर्शी नीतिको आवश्यकताबारे पुनः बहस सिर्जना गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.