काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय प्रदेश सरकारहरूमा निरन्तर देखिँदै आएको तीव्र अस्थिरताप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। बारम्बार सरकार र गठबन्धन बदलिने प्रवृत्तिका कारण सङ्घीय व्यवस्थाप्रति नै जनतामा निराशा फैलिन सक्ने जोखिम औँल्याउँदै उहाँले प्रदेशहरूमा सिङ्गो कार्यकाल टिक्ने गरी स्थायी राजनीतिक सहकार्य वा स्पष्ट विकल्प खोज्न अपिल गर्नुभएको छ।
सामाजिक सञ्जालमा आफ्ना विचार प्रस्तुत गर्दै डा. भट्टराईले नेपालको सामाजिक विविधता, समावेशिता र राष्ट्रिय एकता जोगाउन संविधानसभाबाट स्थापित सङ्घीयताको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ। इतिहास र सङ्घीयताका मर्मबारे पर्याप्त ज्ञान नभएका नयाँ पुस्तामा केही भ्रम हुनु स्वाभाविक भए पनि पुराना र सत्ताकेन्द्रित दलहरूले नै सङ्घीयतालाई कमजोर बनाउने खेल खेलिरहेको आरोप उहाँको छ। उहाँले पुराना दलहरूको यस्तो दोहोरो चरित्रलाई ‘मुखमा रामराम, बगलीमा छुरा’ को उपमा दिँदै प्रदेशहरूलाई जानीबुझी निष्प्रभावी बनाउन खोजिएको दाबी गर्नुभयो।
विद्यमान निर्वाचन प्रणालीका कारण कुनै एक दलको स्पष्ट बहुमत आउन कठिन रहेको यथार्थलाई स्वीकार गर्दै उहाँले हरेक छ-छ महिनामा समीकरण फेर्ने परिपाटीले देशलाई अस्थिरतातर्फ धकेलेको बताउनुभयो। यो समस्या समाधानका लागि विचार र नीति मिल्ने शक्तिहरूबीच पाँचै वर्षका लागि स्थायी गठबन्धन बनाएर सरकार चलाउने र बाँकी दल प्रतिपक्षमा बस्ने वा सबैभन्दा ठूलो दललाई सरकार सञ्चालन गर्न दिएर अन्यले गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने परिपाटी बसाल्नुपर्ने सुझाव उहाँले दिनुभएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाबाट मात्र देशमा स्थायित्व र नागरिकको सुरक्षित भविष्य सम्भव हुने भएकाले सम्पूर्ण राजनीतिक दलहरूलाई समयमै गम्भीर र जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभएको छ।