पर्यटक भिसाको धज्जी उडाउँदै मोरङमा क्रिश्चियन धर्म प्रचार: अवैध शिविर चलाउने १० विदेशी नागरिक पक्राउ
काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा पर्यटक भिसाको दुरुपयोग गरी खुलेआम क्रिश्चियन धर्म प्रचार र धार्मिक शिविर सञ्चालन गर्ने १० जना विदेशी नागरिक पक्राउ परेका छन्। ब्राजिल, क्यानडा र अमेरिकाबाट आएका उनीहरूले स्वास्थ्य शिविरको आवरणमा क्रिश्चियन धार्मिक गतिविधि सञ्चालन गरेपछि स्थानीय प्रशासनले कडा कदम चालेको हो।
‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाको नाममा आएका विदेशी चिकित्सकसहितको टोलीले कुनैपनि आधिकारिक अनुमति बिना शिविर सञ्चालन गरिरहेको पाइएको छ। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको गृह मन्त्रालयले जनाएको छ। कात्तिक ८ गतेदेखि चार दिनका लागि तोकिएको यो शिविरको प्रबन्धक पास्टर पावेल दङ्गाल हुन्।
स्थानीय स्तरमा अस्पताल निर्माण गर्ने भनिएको जग्गाको आडमा यसअघि नै पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको रहस्य खुलेको छ। स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल बनाउने बाहानामा तीन कट्ठा जग्गामा ६ वटा भवन ठड्याएका थिए, जसलाई पछि यस्ता शंकास्पद धार्मिक गतिविधिहरूका लागि प्रयोग गरिएको देखिन्छ। उत्पन्न विवादलाई साम्य पार्न र जनआक्रोश दबाउनकै लागि व्यवसायी श्रेष्ठले हतारहतार यो स्वास्थ्य शिविरको आयोजना गरेका थिए।
गत अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका ती विदेशीहरूको भिसा नोभेम्बर ६ देखि २१ सम्मको भए पनि उनीहरूले राज्यको कानुन र भिसाको मर्म विपरीत देशको सार्वभौमिकता र साम्प्रदायिक सद्भावमा आउने गरी धर्म प्रचारको धन्धा चलाएका हुन्। यस किसिमको कानुन विपरीतको गतिविधिमाथि प्रहरीले अहिले निर्मम ढंगले अनुसन्धान अगाडि बढाएको छ।