बंगालको खाडीमा आएको ‘अर्नब’ चक्रवातको प्रभाव पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

 

बंगालको खाडीमा आएको ‘अर्नब’ चक्रवातको प्रभाव पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

 

पर्सा । बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसको प्रभाव आगामी कार्तिक ११ गतेदेखि नेपालको जमिन भू–भागमा प्रवेश गर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विशेष मौसम बुलेटिनअनुसार विशेषगरी आगामी कार्तिक १२ गते बिहीबार रातिदेखि कार्तिक १४ गते शनिबारसम्म मधेस प्रदेशलगायतका क्षेत्रहरूमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

​यस चक्रवातबाट सिर्जना हुन सक्ने सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्न र जनधनको सुरक्षा सुनिश्चित गर्न जिल्लास्थित आम नागरिक, कृषक, यातायात व्यवसायी तथा सुरक्षा निकाय लगायत सबै सरोकारवालाहरूलाई कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ।

​प्रशासनले जारी गरेको सूचना अनुसार पाकेको धानबाली काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्यहरू कार्तिक १२ गते बिहीबार अगाडि नै गरिसक्न वा सो अवधिभर स्थगित गर्न भनिएको छ। यसैगरी, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने हुनाले अत्यन्त जरुरी काम नपरी यात्रा नगर्न र यात्रा गर्नै पर्ने भएमा मौसमको अवस्था हेरेर मात्र निस्किन अनुरोध गरिएको छ।

​सो समयावधिमा जिल्लामा रहेका साना तथा ठूला खोला र नदीहरूको तटIय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान एवम् खोला/नदी किनारका बस्तीका बासिन्दाहरूलाई बढी चनाखो रहन सचेत गराइएको छ।

​विपद्को यस समयमा वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा, विपद्मा मद्दत माग्न १२३४ मा, नेपाल प्रहरीको हटलाइन १०० मा र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न सकिनेछ। साथै, नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वअनुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी निरन्तर लिरहन पनि अनुरोध गरिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.