अमेरिकाबाट कुरियरमार्फत गाँजा ल्याउने दुई भारतीय नागरिक पक्राउ
काठमाडौं। अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको बहानामा तस्करी गरी ल्याइएको करिब सवा किलो गाँजासहित दुई भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो (कोटेश्वर) बाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा ‘कन्ट्रोल डेलिभरी’ (नियन्त्रित वितरण) प्रविधि प्रयोग गर्दै उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। ब्युरोका अनुसार मंगलबार अमेरिकाबाट पठाइएको कागजात (डकुमेन्ट) को आवरणमा लुकाइएको अवस्थामा १ किलो ३३८ ग्राम गाँजा बरामद गरिएको थियो।
प्रहरीले यस घटनामा संलग्न भारतको गुजरात, अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेललाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट अनुसन्धानका लागि दुई थान मोबाइलसमेत जफत गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले यस गिरोहको अन्तर्राष्ट्रिय जालो र अन्य संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।