भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभाव: ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
भारतको आन्ध्र प्रदेशमा आएको शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण ठूलो जनधनको क्षति भएको छ। चक्रवातको प्रभावबाट हालसम्म तीन जनाको ज्यान गुमेको पुष्टि भएको छ भने ३१ वटा घरमा क्षति पुगेको छ। यस आँधीका कारण तटीय क्षेत्रका ७१४ वटा गाउँहरू नराम्ररी प्रभावित भएका छन्।
स्थितिलाई नियन्त्रणमा लिन र प्रभावितहरूको उद्धार गर्न भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाका अनुसार ७ वटा राज्य तथा केन्द्रशासित प्रदेशमा कुल ३९ वटा उद्धार टोलीहरू परिचालन गरिएका छन्। विशेषगरी बढी जोमिखयुक्त मानिएका आन्ध्र प्रदेश र ओडिशाका साथै छत्तीसगढ, झारखण्ड, तेलङ्गाना, पुडुचेरी र अन्डमान तथा निकोबार द्वीपसमूहमा सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ खटाइएको छ।
शुरुमा अति गम्भीर चक्रवाती आँधीको रूपमा समुद्रमा सक्रिय रहेको यो प्रणाली आन्ध्र प्रदेशको तटमा ठोक्किएपछि जमिनमा प्रवेश गरेसँगै केही कमजोर भएर गम्भीर चक्रवातमा परिणत भएको छ। आँधीको गति केही मन्द भए पनि त्यसले तटीय बस्तीहरूमा पुर्याएको असर गम्भीर छ। सरकार र उद्धार निकायहरूले थप क्षति हुन नदिन प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तिब्रता दिएका छन्।