पर्सामा ६७.५१% विद्यार्थी फेल, ८ जनाले मात्र ल्याए ४ जीपीए

पर्सा । शिक्षामा क्रान्ति ल्याउने ठूला ठूला भाषण दिने नेताहरूको क्षेत्र पर्सामा शिक्षाको स्तर खस्किँदो छ, जुन कुरा हालै सार्वजनिक भएको एसईई २०८२ को नतिजाले छर्लंग बनाएको छ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार, पर्सा जिल्लाबाट एसईईमा सहभागी भएका नियमिततर्फका १० हजार २३ जना विद्यार्थीमध्ये ३२.४९ प्रतिशत मात्र पास भएका छन् भने ६७.५१ प्रतिशत विद्यार्थी असफल भएका छन्। प्राविधिक धारतर्फ परीक्षा दिएका २१० जना विद्यार्थीमध्ये केवल १५ प्रतिशत, अर्थात् ३३ जना मात्र पास भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार, अधिकांश विद्यार्थीको नतिजा “ननग्रेड” मा आएको छ। अचम्म त के भने, पूरै जिल्लाबाट जम्मा ८ जना विद्यार्थीले मात्र ४.०० जीपीए ल्याएर टप गरेका छन्।

शिक्षा खस्कँदा नेताहरु मौन

पर्साका विभिन्न नेताहरू, नगर प्रमुख र स्थानीय प्रतिनिधिहरूले वर्षभरि शिक्षा सुधारका नाममा लाखौं बजेट खर्च गरिरहेका छन्। तर वास्तविकता भने ठ्याक्कै उल्टो देखिएको छ। भाषणमा “स्मार्ट शिक्षा”, “डिजिटल कक्षा”, “मोडर्न स्कूल” भन्ने नेताहरु आज फेलको दर ६७ प्रतिशत पुगेको हेर्न विवश छन्।

स्थानीय तहमा बजेट छ, योजना छ, फोटो सेसन छ — छैन भने परिणाम। विद्यालयहरूमा आवश्यक पूर्वाधार, गुणस्तरीय शिक्षण, समयमै पाठ्यक्रम पुरा हुने अवस्था छैन। शिक्षक–विद्यार्थी अनुपात विग्रेको छ, निगरानी कमजोर छ, र राजनीतिक हस्तक्षेप झनै बढी।

जनता प्रश्न गर्छन् : “अबको सुधार कहिले?”

एकातर्फ सरकारी विद्यालयका विद्यार्थी वर्षौंदेखि निराशाजनक नतिजा भोगिरहेका छन्, अर्कोतर्फ निजी विद्यालयहरूले आफ्नो स्तर कायम राख्न संघर्ष गरिरहेका छन्। अब पर्साका जनताले सोध्न थालेका छन्, “शिक्षामा सुधारको गफ कहिले परिणाममा देखिन्छ?”

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.