झापा । झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बलको नम्बर ३८ रिजर्भ गण (पाडाजुंगी) मा कार्यरत एक सशस्त्र प्रहरी जवानको विद्युत् मर्मतका क्रममा करेन्ट लागेर ज्यान गएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३० वर्षीय सशस्त्र प्रहरी जवान सुदिम खत्रीको बिहीबार साँझ निधन भएको हो।
घटना:
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय (कोशी प्रदेश) का सूचना अधिकारी एवम् वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक (SSP) महेश केसीका अनुसार, बिहीबार साँझ करिब ५ बजे गणभित्रको आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा खत्रीलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेलगत्तै गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट विद्युत् सम्बन्धी तालिम समेत प्राप्त गरेका थिए।
घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।