प्रतिस्पर्धीको परिवारमाथि वीरेन्द्र सिंहको तल्लो स्तरको टिप्पणी: चौतर्फी आलोचना
सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीको राजनीतिमा व्यक्तिगत हिलो छ्यापाछ्याप सुरु भएको छ। नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश कुमार सिंहमाथि गरेको व्यक्तिगत टिप्पणीले अहिले सामाजिक सञ्जालमा ठूलो विवाद निम्त्याएको छ।
के भने वीरेन्द्र सिंहले?
सार्वजनिक रूपमा बोल्दै नेता सिंहले डा. अमरेश सिंहको व्यक्तिगत जीवनमाथि धावा बोलेका छन्। उनले अमरेश सिंहले राजनीति, काठमाडौंको घर, र खाना मात्र नभई श्रीमती र छोराछोरी समेत ‘फ्री’ (सित्तै) मा पाएको भन्दै निकै तल्लो स्तरको टिप्पणी गरे। भिडियोमा उनी भन्छन्, “उहाँलाई दुख के हो थाहा छैन, सबै थोक फोकटमा मिलेको छ।”
चौतर्फी आलोचना र पुरानो विवादको चर्चा
राजनीतिक प्रतिस्पर्धामा नीति र सिद्धान्तको बहस हुनुपर्नेमा उम्मेदवारको परिवार, श्रीमती र सन्तानमाथि सार्वजनिक रूपमा यस्तो टिप्पणी हुनु “राजनीतिक संस्कारहीनता” भएको भन्दै नागरिक समाज र सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको कडा आलोचना गरिरहेका छन्।
आलोचकहरूले वीरेन्द्र सिंहको आफ्नै विगतको पनि स्मरण गराएका छन्। मधेश प्रदेशको मुख्यमन्त्रीको दौडमा विवाद हुँदा नेपालको राष्ट्रिय झण्डा भुईँमा फालेको आरोप खेपेका सिंहले अर्काको पारिवारिक चरित्रमाथि प्रश्न उठाउनु नैतिकताको पराकाष्ठा भएको टिप्पणी भइरहेको छ।
निर्वाचनमा असर पर्न सक्ने
आफ्नो चरित्र र विगत नहेरी प्रतिपक्षीको परिवारमाथि अमर्यादित टिप्पणी गरेको भन्दै मतदाताहरू माझ पनि यसको नकारात्मक सन्देश गएको देखिन्छ। निर्वाचनको मुखमा आएर गरिएको यस्तो गालीगलौजले चुनावी वातावरणलाई झन् उत्तेजित बनाएको छ।