काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३–२४ गते भएको जेन–जी युवा आन्दोलनमा निधन भएका ७६ जनाको परिवारसँग भेट गर्दै दु:ख व्यक्त गरेकी छन् । उनले सरकारमा हुनेहरूको अपरिपक्व निर्णयका कारण ज्यान गएको उल्लेख गर्दै यस्तो नहुनुपर्ने घटना भएको र परिवारलाई सहयोग गर्ने उपायबारे सोचिएको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन, जस कारण यो दुर्घटना भयो । बच्चाहरूको पढाइ र भविष्यका अवसर सुनिश्चित गर्न सोचिरहेका छौं। उहाँहरूले मागेको केही छैन । उहाँहरूको नोक्सानको क्षतिपूर्ति त असम्भव छ, तर राज्यबाट उनीहरूलाई उठ्न मद्दत गर्ने प्रतिबद्धता छ ।’
सहिद परिवार भेट्न पुग्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भने, ‘सहिदहरूको रगतमा अन्याय हुन दिने छैनौँ र उनीहरूको बलिदानीले न्याय पाउनेछ ।’
गत आन्दोलनमा सयौं मानिस घाइते भएका थिए । यस वर्ष दसैं पर्वमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई टीका लगाइदिएनन् ।