काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लेनदेन प्रकरणमा मुछिएका एमालेका भूमीसुधारमन्त्री बलराम अधिकारीको राजीनामा नआएको विषयमा आपत्ति जनाएका छन् ।
कांग्रेस सांसद समेत रहेका नेता कोइरालाले अधिकारीको राजीनामा भूमीसम्बन्धी विधेयकसँग जोडिएको हुनसक्ने आशंका व्यक्त गरे ।
सामाजिक सञ्जालमा लेख्दै उनले भूमीमन्त्रीको राजीनामा नआउनु र एमालेले भूमी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गरौँ भन्ने प्रस्ताव गर्नुले शंका पैदा गरेको बताए ।
‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजीनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।
त्यस्तै आफ्नो दल नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको समेत बताए । त्यस्तै पोखरा जग्गा प्रकरणसँग जोडिएका मन्त्रीदेखि कर्मचारी र विचौलियालाई समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउन उनले माग गरे ।
‘नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन । पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं, भूमी विधेयकमा समितिमा गहन छलफल गरौँ,’ उनले भने ।