राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी असोज २९ गतेदेखि ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको नयाँ ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिने ७ वर्ष अवधिको यस डिबेन्चरको अंकित मूल्य प्रतिऋणपत्र एक हजार रुपैयाँ तोकिएको छ, जसअन्तर्गत बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बजारमा ल्याउनेछ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि तोकिएको कुल कित्ताबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरूका लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको समयावधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद कात्तिक १२ गतेसम्म थपिने प्रावधान राखिएको छ। कुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्काशनमा लगानीकर्ताले सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका साथै सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ प्रणालीमार्फत सहजीकरणका साथ अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।