नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: आज उम्मेदवारी दर्ता, पदाधिकारी र केन्द्रीय समिति बढाउने निर्णय
काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी निर्वाचन समितिले बिहान १० बजेदेखि मनोनयन दर्ता फारम वितरणको तयारी गरेको छ भने दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। महाधिवेशन प्रतिनिधिहरूको नामावली सभागृहको भित्री पर्खालमा टाँसिएको छ, जहाँ उम्मेदवारहरूले सभागृहभित्रै रहेको प्रभु बैंकका कर्मचारीलाई निर्धारित शुल्क बुझाएर रसिद लिई आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्। यसपटक देशभरिबाट आएका सात हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।
बढ्दो प्रतिनिधि संख्या र समावेशी सहभागितालाई मध्यनजर गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्यामा उल्लेख्य वृद्धि गरेको छ। सोमबार पारित संशोधित विधानअनुसार अघिल्लो १४ औँ महाधिवेशनमा १६७ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिलाई बढाएर अब २९७ सदस्यीय बनाइएको छ। त्यसैगरी, १४ जनामा सीमित पदाधिकारी संख्यालाई बढाएर २६ पुर्याइएको छ।
नयाँ वैधानिक व्यवस्थाअनुसार पार्टीमा एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थप गरी उपसभापतिको संख्या चार पुर्याइएको छ। महामन्त्रीको संख्या तीन बनाइएको छ, जसमा एक महिला महामन्त्री अनिवार्य गरिएको छ। त्यसैगरी, दुई जना खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ भने नयाँ पदाधिकारीका रूपमा प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताअनुसार पछि सहप्रवक्ताहरूको संख्यासमेत थप्न सकिने पार्टीले जनाएको छ।