बिनास्वीकृति इन्टरनेट प्याकेज सञ्चालन गर्ने नेपाल टेलिकमसहित ६ कम्पनीलाई जरिवाना
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति नलिई इन्टरनेट सेवा र शुल्क प्याकेज सञ्चालन गरेको भन्दै सरकारी स्वामित्वको नेपाल टेलिकमसहित छ वटा इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरेको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) अनुसार अनुमतिपत्रका सर्त उल्लंघन गर्ने यी कम्पनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको हो।
कारबाहीमा परेको नेपाल टेलिकमले वार्षिक चार हजार ९९९ रुपैयाँको इन्टरनेट प्याकेज नियामक निकायबाट स्वीकृत गराएमै सञ्चालनमा ल्याएको थियो, जुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा प्रचार गरेपछि निकै चर्चामा आएको थियो। टेलिकमबाहेक आई. जोन, चितवन युनिक नेट, स्काइ वर्ल्डवाइड, सजिलो नेट र कनेक्ट नेपाल नेटवर्क प्रा.लि. पनि कारबाहीको दायरामा परेका छन्।
प्राधिकरणले नियमविपरीत सञ्चालनमा ल्याइएका यस्ता सम्पूर्ण प्याकेज तथा शुल्क तुरुन्त बन्द गरी त्यसको जानकारी बुझाउन निर्देशन दिएको छ। साथै, सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई आफूले उपलब्ध गराउने सेवाका प्याकेज तथा शुल्क अनिवार्य रूपमा स्वीकृत गराएर मात्र लागू गर्न र स्वीकृत दरहरू सर्वसाधारणका लागि सूचना तथा वेबसाइटमार्फत सार्वजनिक गर्न सचेत गराएको छ।
