विदेशी मुद्राको भुक्तानी र सटही सीमा बढायो राष्ट्र बैंकले
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न कारोबार एवम् सेवाका लागि दिइने विदेशी मुद्राको भुक्तानी र सटही सीमा बढाउन निर्देशन दिएको छ।
यस नयाँ व्यवस्थाअनुसार नेपाली वायुसेवा कम्पनीहरूले हवाई जहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा वा विदेश लगेर मर्मत गराउँदा विदेशी बैंकको ग्यारेण्टीविना नै नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी पठाउन सक्नेछन्। यसअघि यो सीमा १ लाख डलरमा मात्र सीमित थियो। त्यसैगरी, विदेशमा उपचार गराउने वा औषधि र उपकरण खरिद गर्ने नेपाली नागरिकले अब वार्षिक ३० हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन्, जुन पहिले १५ हजार डलर मात्र थियो।
दूरसञ्चार प्रदायक कम्पनीहरूले विदेशी कम्पनीसँग सेटेलाइट सेवा भाडामा लिँदा वार्षिक ५ लाख डलरसम्मको भुक्तानी बैंकहरूमार्फत सोझै गर्न पाउनेछन्। अन्य व्यावसायिक सेवा भुक्तानीको हकमा नियामक निकायको स्वीकृति वा सिफारिसका आधारमा वाणिज्य बैंकहरूले प्रतिपटक ३० हजार अमेरिकी डलर वा सोबराबरको मुद्रा सटही सुविधा दिन सक्नेछन् भने सोभन्दा बढी वा नियामक नभएको अवस्थामा ३० हजारभन्दा माथिको भुक्तानीका लागि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य गरिएको छ। साथै, नियामक निकाय नभएको खण्डमा प्रतिपटक ८ हजार डलरभन्दा बढी रकमको भुक्तानीका लागि पनि केन्द्रीय बैंककै स्वीकृति लिनुपर्नेछ। अग्रिम भुक्तानीका लागि विदेशी बैंकको ग्यारेन्टी चाहिने सीमालाई पनि १५ हजार डलरबाट बढाएर ३० हजार डलर पुर्याइएको छ।
भारतबाट सेवा सुविधा लिने सम्झौता गरेका कम्पनीहरूका लागि वाणिज्य बैंकहरूमार्फत गरिने भुक्तानी सीमा भारू ४० लाखबाट बढाएर ६० लाख पुर्याइएको छ। कार्डमार्फत विदेशमा अनलाइन सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने प्रयोगकर्ताहरूकै कार्डमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ।
कार्डमा १० हजार अमेरिकी डलरभन्दा बढी मौज्दात भएमा सो बढी रकम अनिवार्य रूपमा स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ, जसको सीमा पहिले ५ हजार डलर थियो। यसका साथै, सेवा निर्यातकर्ताले कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न पाउने वार्षिक विदेशी मुद्रा सटहीको अधिकतम सीमालाई पनि ५ हजार डलरबाट बढाएर १० हजार डलर बनाइएको छ।