भोटेकोशी बाढी: बेपत्ता विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत प्याकेज घोषणा

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल विद्युत प्राधिकरणले बेपत्ता कर्मचारी तथा कामदारका परिवारका लागि तत्काल राहत प्याकेजको घोषणा गरेको छ। बाढीले १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा कर्मचारी र कामदारहरू बेपत्ता भएका छन्, जसमा प्राधिकरणअन्तर्गतका मात्रै ४७ जना समेटिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यो मानवीय निर्णय लिएको हो। सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार बाढीमा परेकाहरूको खोजी कार्यलाई सघाउन, परिवारलाई कुल धर्मअनुसारको सामाजिक संस्कार गर्न र दैनिक जीवनयापन सहज बनाउन यो राहत रकम उपलब्ध गराइने भएको छ।
घोषित राहत प्याकेजअन्तर्गत पहिलो चरणमा स्थायी, ज्यालादारी तथा सेवा करारमा कार्यरत सबै बेपत्ता कर्मचारी र कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ। यसैगरी दोस्रो व्यवस्थाअन्तर्गत, स्थायी कर्मचारीको हकमा अन्तिम क्षतिपूर्ति वा थप निर्णय नभएसम्मका लागि भदौ महिनादेखि बढीमा ६ महिनासम्म सम्बन्धित तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा परिवारलाई नियमित प्रदान गरिनेछ।
बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका सबै कर्मचारी र कामदारका परिवारको हेरचाह गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो। सबै कर्मचारीलाई एउटै परिवारको संज्ञा दिँदै उहाँले यो सानो आर्थिक सहयोगले ठूलो पीडा र घाउ पूर्ण रूपमा निको पार्न नसके पनि पीडित परिवारको आँसु पुछ्न र थोरै भए पनि मल्हम लगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.