काठमाडौं । निपाह भाइरस (Nipah Virus) को बारेमा पछिल्लो समय जनस्वास्थ्यमा चिन्ता बढिरहेको छ
पछिल्लो समय छिमेकी मुलुक भारतका केही राज्यहरूमा निपा भाइरसको संक्रमण देखिएसँगै नेपालमा पनि यसको जोखिमबारे बहस सुरु भएको छ। विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई ‘ब्लुप्रिन्ट प्रायोरिटी डिजिज’ को सूचीमा राखेको छ, जसको अर्थ यो भाइरसले भविष्यमा महामारीको रूप लिन सक्ने क्षमता राख्दछ।
के हो त निपा भाइरस?
निपाह भाइरस एउटा जुनोटिक भाइरस हो, जुन जनावरबाट मानिसमा सर्ने गर्दछ। यो मुख्यतया ‘फ्रुट ब्याट’ (एक प्रकारको चमेरो) बाट फैलने गर्दछ। यो भाइरस लागेका मानिसहरूमा सामान्य ज्वरोदेखि लिएर गम्भीर श्वासप्रश्वासको समस्या र मस्तिष्क सुन्निने (Encephalitis) सम्म हुन सक्छ। यसको मृत्युदर अन्य भाइरसको तुलनामा निकै उच्च (४०% देखि ७५% सम्म) रहेको पाइन्छ।
निपाह भाइरस मानिसमा कसरी सर्छ त ?
निपाह भाइरस मुख्यतया तीन तरिकाले सर्ने गर्दछ:
१. संक्रमित जनावरबाट: विशेषगरी चमेरो वा सुँगुरको र्याल, पिसाब वा मलमूत्रको प्रत्यक्ष सम्पर्कमा आउँदा।
२. दूषित खाद्यवस्तुबाट: चमेरोले टोकेका फलफूलहरू (जस्तै: अम्बा, खजुर, ताडी) खाँदा।
३.मानिसबाट मानिसमा: संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस फैलिन सक्छ।
नेपालमा कतिको जोखिम छ त?
नेपाल निपाह भाइरसको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्। यसका मुख्य कारणहरू
खुल्ला सिमाना: भारतसँगको खुला सिमाना र मानिसहरूको निरन्तर आवतजावतले गर्दा संक्रमण भित्रिने सम्भावना सधैँ रहन्छ।
नेपालामा चमेरोको उपस्थिति: नेपालका विभिन्न भागमा निपाह भाइरस बोक्ने प्रजातिका चमेराहरू पाइन्छन्।
नेपालमा फलफूलको आयात: छिमेकी देशहरूबाट आयात गरिने फलफूलहरू राम्ररी सफा नगरी खाँदा जोखिम हुन सक्छ।
नेपालमा अहिलेसम्म निपाह भाइरसको आधिकारिक पुष्टि नभए पनि भौगोलिक अवस्थिति र वातावरणीय कारणले हामी पूर्ण सुरक्षित छौँ भन्न सकिने अवस्था छैन। सतर्कता नै उत्तम उपाय हो।”
अब यसबाट कसरी बचन सकिन्छ त ?
• रुखबाट झरेका वा चमेरोले टोकेका जस्ता देखिने फलफूलहरू नखाने।
• फलफूल खानुअघि राम्ररी पखाल्ने।
• पशुपालकहरूले सुँगुर वा अन्य जनावरसँग काम गर्दा मास्क र पञ्जाको प्रयोग गर्ने।
• साबुनपानीले नियमित हात धुने।
यस भाइरस विरुद्ध हालसम्म कुनै निश्चित खोप वा औषधि बनिनसकेकाले लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ।