सिरहामा किशोरीको शंकास्पद मृत्यु: बलात्कार आरोपपछि घटना रहस्यमय

पर्सा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया रिंकु कुमारी सदायको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ।

रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युलाई लिएर विभिन्न शंका उपशंका उत्पन्न भएका छन्।

परिवारका अनुसार २६ माघको राति शौच गर्न बाहिर गएकी रिंकु ६ घण्टासम्म बेपत्ता भइन्। २७ माघ बिहान ३ बजे उनी रोइरहेको अवस्थामा घरबाहिर फेला परेपछि उनले आफ्ना आमाबुबालाई तीन युवकले आफूलाई बलात्कार गरेको बताएको दाबी गरिएको छ।

रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेला माथि सामूहिक बलात्कारको आरोप लगाएको परिवारको भनाइ छ।

घटनापछि गाउँमा पञ्चायती सभा बसेर रु. १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको तर पीडित पक्षले अस्वीकार गरेपछि विवाद चुलिएको थियो। यही विवादकै बीच ३० फागुनको साँझ रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

प्रहरीमा भने रिंकुको मृत्युलाई आत्महत्या दुरुत्साहनको रुपमा जाहेरी दर्ता गरिएको छ। प्रमुख आरोपी रुपेश मण्डल फरार रहेका छन् भने अन्यको हकमा जाहेरी नआएको प्रहरीले जनाएको छ।

घटनाको गम्भीरताका कारण शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता खुल्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस घटनाले सिरहामा व्यापक जनआक्रोश उत्पन्न गरेको छ भने पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्। दोषीमाथि कडा कानूनी कारबाही हुनुपर्ने स्थानीयको भनाइ छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.