बारा । बाराको परवानीपुरमा एक अज्ञात समूहले धारिलो हतियार (चाकु) प्रहार गरी आमा र छोराको बीभत्स हत्या गरेको छ। परवानीपुर गाउँपालिकामा भएको यस घटनाले स्थानीय क्षेत्र शोक र त्रासमा डुबेको छ।
प्राप्त जानकारी अनुसार, घरमै बसिरहेको अवस्थामा आमा र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। आक्रमणकारीले घाँटी र शरीरका अन्य भागमा चाकु प्रहार गरी उनीहरूको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्यापछि अपराधी फरार भएका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय बाराबाट उच्च अधिकारीहरूको टोली घटनास्थल पुगेको छ। हत्याको प्रकृति निकै गम्भीर देखिएकाले अपराधीको पहिचान र खोजतलासका लागि तालिमप्राप्त कुकुर (ट्रयाकर डग) परिचालन गरिएको छ।
प्रहरीले घटनास्थललाई सिल गरी प्रमाणहरू संकलन गरिरहेको छ।
प्रहरीका अनुसार आक्रमणकारीको पहिचान अझै खुल्न सकेको छैन।
घटना व्यक्तिगत रिसिइबी वा अन्य कुनै कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।
शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
मध्यराती भएको यस किसिमको जघन्य अपराधले परवानीपुरका बासिन्दाहरू त्रसित बनेका छन्। स्थानीयले अपराधीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीले शंकास्पद केही व्यक्तिहरूमाथि निगरानी बढाएको र छिट्टै सत्यतथ्य बाहिर ल्याउने जनाएको छ।
भिडियो समाचार :