एजेन्सी । भारतले शुक्रबार मार्चमा समाप्त हुने वर्षमा आठ दशमलव दुई प्रतिशतले आर्थिक वृद्धि हासिल गरेको छ । आम निर्वाचन समाप्त हुनु एक दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक साखलाई यसले अन्तिम क्षणमा बढावा दिएको छ ।
बलियो माग र व्यापक सरकारी पूर्वाधार खर्चका कारण विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत सबैभन्दा द्रुत विकास हुने प्रमुख अर्थतन्त्र बनेको छ । दीर्घकालीन बेरोजगारी र गरिवीले ग्रस्त करोडौं नागरिकका लागि अपार कल्याणकारी खर्च भए पनि यसले भारतको समग्र आर्थिक प्रक्षेपणबारेको भावनालाई सकारात्मक बनाएको छ ।
उत्पादन र उत्खनन क्षेत्रमा बलियो वृद्धिका कारण भारतको वार्षिक वृद्धि सङ्ख्यामा गरेको योगदानले सरकार र विश्लेषक दुवैको अनुमानलाई पछि पारेको छ । भारतीय अर्थतन्त्रले मार्चको त्रैमासिकमा सरकारको ५ दशमलव ९ प्रतिशतको पूर्वानुमानभन्दा बढी सात दशमलव आठ प्रतिशतले वृद्धि हासिल गरेको छ ।
भारतीय तथ्याङ्क मन्त्रालयको आँकडा मुलुकको छ साताभन्दा लामो समयसम्म आम निर्वाचनमा मतदान समाप्त हुनुभन्दा एक दिनअघि प्रकाशित गरिएको थियो ।
मङ्गलबार मतगणना भएपछि मोदीको सरकारले तेस्रो कार्यकाल जित्ने विश्लेषकहरूले अनुमान गरेका छन् । ७३ वर्षीय मोदीले दशकको अन्त्यसम्म भारतलाई अमेरिका र चीनपछि विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने वाचा गरेका छन् ।