एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री तथा नेशनलिस्ट कांग्रेस पार्टी (एनसिपी) का वरिष्ठ नेता अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा पवारको मृत्यु भएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार, पवारका सहयोगीले उनको निधनको पुष्टि गरेका छन् । दुर्घटनाका बेला विमानमा पाँच जना यात्रु सवार थिए।
उपमुख्यमन्त्री पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए। पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित मृतकको शव अस्पतालमा ल्याइएको जानकारी दिएका छन्।
६६ वर्षीय अजित पवार जिल्ला परिषद् निर्वाचनको प्रचार अभियानका क्रममा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए। सोही क्रममा विमान अवतरण गर्ने बेला दुर्घटनामा परेको बताइएको छ।