एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्, जसअनुसार चलसम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ ।
मोदीले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दती छ । लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति ३ करोड रहेको उल्लेख गरेका हुन् ।
बीबीसीका अनुसार मोदीले मनोनयन दर्तापत्रमा आफ्नो चल सम्पत्ति ३ करोड २ लाख ६ हजार ८ सय ८९ रहेको उल्लेख छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ । यसबाहेक मोदीसँग चारवटा सुनका औँठी छन्, जसको मूल्य २.६७ लाख पर्छ ।
मोदीले गत आर्थिक वर्षमा ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए । मोदीले नगदबारे यसरी खुलाए पनि उनको अचल सम्पत्ति कहाँ कति छ भन्नेबारे खुलाइएको छैन । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी खुलाएका छैनन् ।
मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोडको सम्पत्ति रहेको बताएका थिए, जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।
सन् २०१४ मा उनले १.६५ करोड सम्पत्ति रहेको खुलाएका थिए ।