भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बन

एजेन्सी । भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन्। संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए।

विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो। सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसदमा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका सांसदहरूलाई हिजो निलम्बन गरेका हुन्।

जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएको बीबीसी हिन्दीले जनाएको छ। लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित भएका छन्। गएको बुधवार दुई जना युवाहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए । उनीहरूले संसदमा पहेँलो रंगको धुवाँ फैलाएका थिए।

संसद् भवनमा आतङ्कवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर दुई युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका हुन्। यसअघि २००१ को डिसेम्बर १३ मा संसद् भवनमाथि आतङ्कवादी हमला भएको थियो। त्यही दिन पारेर भएको नयाँ घटनालाई विपक्षी सांसदहरूले संसद्को सुरक्षामा ठूलो गल्ती भएको भन्दै सरकारमाथि प्रश्न उठाइरहेका छन्।

प्रदर्शन शुरु भएकैदिन लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो। हिजो समेत गरी लोकसभाबाट ४६ र राज्यसभाबाट ४६ गरी ९२ जना सांसद निलम्बित भएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.