एजेन्सी । गाँजाको प्रयोगलाई लिएर युक्रेनी संसदमा चलेको लामो बहसले निकास पाएको छ। युक्रेनको संसदले गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेसँगै कानुनी मान्यता पाएको हो।
युक्रेनको संसदले पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर र युद्धका कारण हुने पीडादायी रोगहरूको उपचार गर्न गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेको हो। युक्रेनी संसदमा पनि यो कानुन पारित गर्न मतदान नै भएको थियो। २४८ सदस्यले पक्षमा मतदान गर्दा १६ सदस्यले विपक्षमा मतदान गरेका थिए भने। ३३ जना सांसद उपस्थित भएनन्। ४० जना सदस्यले मतदान गर्न नै पाएनन।
संसदका सभामुख रुस्लान स्टेफानचुकले गाँजाको औषधि प्रयोग गर्ने अवस्था र विधिको सूची स्वास्थ्य मन्त्रालयले निर्धारण गर्ने बताए। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध–सम्बन्धित अवस्थाहरूको उपचारको रूपमा मेडिकल मारिजुआना (गाँजा) को पहुँचको लागि जुन २०२३ मा संसदलाई सम्बोधन गर्दा औषधिलाई कानुनी मान्यता दिन आग्रह गरेका थिए।
उनले ‘भांगमा आधारित औषधिहरूलाई उचित वैज्ञानिक अनुसन्धान र नियन्त्रित युक्रेनी उत्पादनलाई आवश्यक पर्ने सबैका लागि वैधानिक बनाउन आवश्यक छ’ भनेका थिए। युक्रेन अहिले रुससँगको युद्धमा रहेको छ। २१ महिनादेखि चलिरहेको युद्धका कारण त्यहाँको हरेक कुरा अस्तव्यस्त भएको र गाँजाको बैधानिकताले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।