कम्युनिस्ट आन्दोलनमा गम्भीर आत्मसमीक्षाको खाँचो: शंकर पोखरेल

कम्युनिस्ट आन्दोलनमा गम्भीर आत्मसमीक्षाको खाँचो: शंकर पोखरेल

​काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनमाथि गम्भीर प्रश्न उठाउँदै कडा आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्। संघर्ष, विद्रोह र अधिकार प्राप्तिमा सफल भए पनि कम्युनिस्टहरू राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको उनको निष्कर्ष छ। लामो समयसम्म संघर्षलाई मात्र प्राथमिकता दिएर समाज परिवर्तनको मुख्य आधार मानिने ‘अर्थराजनीति’लाई उपेक्षा गर्दा सत्तामा पुगेपछि कम्युनिस्टहरू कमजोर बन्न पुगेका हुन्। क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चय गर्ने आधार हो’ भन्ने मान्यता अघि सारिए पनि व्यवहारमा लागू नहुँदा सरकारको नेतृत्व गर्दा राजनीतिक शक्ति नै क्षयीकरण हुने अवस्था सिर्जना भएको छ।

​कम्युनिस्ट नेतृत्वका सरकारहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाको क्षेत्रमा उल्लेख्य काम गरे पनि सोही अनुसार जनसमर्थन विस्तार हुन सकेको छैन। २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ को केपी शर्मा ओली नेतृत्वको नौमहिने वामपन्थी सरकारबाहेक अन्य वामपन्थी सरकारले आफ्नो जनमत विस्तार गर्न नसकेको पोखरेलको दाबी छ। झन् आम निर्वाचन २०८२ मा वाम तथा कम्युनिस्ट आन्दोलनले व्यहोरेको ‘असाधारण धक्का’ पछि अब पुरानै शैली र ढर्राबाट अघि बढ्न नसकिने स्पष्ट भएको छ।

​कम्युनिस्ट नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै पार्टीबाट किन टाढिए तथा नेता–कार्यकर्तामा सामाजिक परिवर्तनको हुटहुटी किन कमजोर भयो भन्ने विषयमा अब आफूलाई नै कठघरामा उभ्याएर निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ। हरेक समस्याको पछाडि कारण हुने र समाधान पनि तिनै कारणहरूको पहिचानबाट मात्र सम्भव हुने मार्क्सवादी मान्यता अनुसार समस्याबाट भाग्नुको साटो सामना गर्दै अघि बढ्नुपर्ने देखिन्छ। पोखरेलको यो अभिव्यक्तिले नेकपा एमालेभित्र मात्र नभई समग्र नेपाली कम्युनिस्ट आन्दोलनमा नै बहस, आत्मसमीक्षा र पुनर्गठनको नयाँ तरंग पैदा गरिदिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.