पर्सा-१ मा ‘हेभिवेट’ भिडन्त: पुरानो विरासत जोगाउने दाउ र नयाँ शक्तिको चुनौती

पर्सा-१ मा ‘हेभिवेट’ भिडन्त: पुरानो विरासत जोगाउने दाउ र नयाँ शक्तिको चुनौती..

वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मीले सीमा नाघेको छ। आर्थिक राजधानी वीरगञ्जको मुख्य भाग समेटिएको यो क्षेत्रमा यसपटक ‘पुरानो विरासत’ र ‘नयाँ जोस’ बीचको कडा टक्कर हुने देखिएको छ। उम्मेदवारी दर्तासँगै दलहरूले घरदैलो र चुनावी सभालाई तीव्र पारेका छन्, जसले गर्दा वीरगञ्जका गल्लीहरू यतिबेला झण्डा र ब्यानरले रंगिएका छन् ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका प्रदीप यादव, नेपाली कांग्रेसका अनिल रुंगटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि पन्त बीच हुने प्रारम्भिक आँकलन गरिएको छ। जनता समाजवादी पार्टी (जसपा) छोडेर अन्तिम समयमा एमाले प्रवेश गरी उम्मेदवार बनेका निवर्तमान सांसद प्रदीप यादव आफ्नो पकड कायम राख्न कडा मिहिनेत गरिरहेका छन्। उता, नेपाली कांग्रेसले पूर्व सभासद एवं स्थापित व्यवसायी अनिल रुंगटालाई मैदानमा उतारेर आफ्नो गुमेको साख फर्काउने कसरतमा छ। नयाँ शक्तिको रूपमा उदाएको रास्वपाका हरि पन्तले ‘परिवर्तन’ र ‘जेनजी’ एजेण्डालाई प्राथमिकता दिँदै युवा मतदाताहरूको ध्यान तानिरहेका छन्, जसले पुराना दलहरूको टाउको दुखाइ बनेको छ ।

पर्सा-१ को चुनावी मैदानमा कुल ३० जना उम्मेदवारहरू उत्रिएका छन्, जसमा जसपा नेपालका रामनरेश यादव पनि पहिलोपटक प्रतिनिधिसभाको भाग्य चम्काउने दाउमा छन् । उम्मेदवारहरूले मतदाता रिझाउन वीरगञ्जको व्यापारिक मन्दी, बेरोजगारी र पूर्वाधार विकासका आश्वासन बाँडिरहेका छन् ।  यद्यपि, मतदाताहरूमा भने मिश्रित प्रतिक्रिया देखिएको छ; केही नागरिकहरू पुरानै अनुहार दोहोरिएकोमा असन्तुष्ट छन् भने केही नयाँले गर्ने काममा अझै विश्वस्त हुन सकेका छैनन् । राजनीतिक पण्डितहरूका अनुसार, यसपटकको नतिजा मधेसको जातीय समीकरण र ‘स्विङ’ हुने युवा मतदाताहरूको हातमा रहनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.