शिक्षक महासंघका अध्यक्षले भन्छन: “यसपटक हामी वार कि पारको लडाइँमा छौं”

पर्सा । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक निर्णायक संघर्षको चरणमा पुगेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् स्टाटस लेख्दै उनले गाउँघरमा रहेका शिक्षकहरूलाई पनि आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् ।

‘आन्दोलन आफैंमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाइँमा छौं भन्ने बुझिदिनुहोला’, सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अन्तिम लडाइँ भएकाले नियमितभन्दा बढी प्रयास गर्नुपर्ने बताए । त्यसैले शनिबार बिहान ११ बजे नै आन्दोलनस्थलमा उपस्थित हुन शिक्षकहरूलाई अनुरोध गरेका छन् ।

यसअघि शुक्रबार शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि शिक्षकलाई बोलाए पनि वार्ता हुन सकेन । सिंहदरबार पुग्दा पासको समस्याका कारण महासंघका पदाधिकारी प्रवेश गर्न सकेनन् ।

मन्त्रालयले वार्ताका लागि सहभागी हुने २५ जनाको सूची तयार पारी प्रहरीलाई पासको लागि पठाएको थियो ।

शिक्षा मन्त्रालयको सचिवालयले सिंहदरबार गेटमा ती नाम पठाएको र त्यही सूचीमा रहेका व्यक्तिहरूलाई मात्र प्रवेश दिइने प्रहरीको भनाइ थियो । तर, महासंघका कतिपय पदाधिकारीहरूको नाम उक्त सूचीमा नपरेकाले उनीहरू गेटमै रोकिए ।

यस घटनापछि अध्यक्ष सुवेदीले फेसबुकमा स्टाटस लेख्दै वार्ताका लागि मन्त्रालयले बनाएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको स्पष्ट पारे ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ’, स्टाटसमा उल्लेख छ, ‘वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर, विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’

शिक्षक २० चैतदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.