पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको पदबाट हटाएपछि डा. मुकुल ढकालले प्रतिक्रिया दिएका छन् । उनले आफू पार्टीबाट नभइ सभापति रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका हुन् ।
ढकालले आफू कारबाहीमा परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्पमा अडिग रहेको पनि उल्लेख गरेका छन् ।
‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन,’ ढकालले फेसबुकमा लेखेका छन् ।
आज बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई सबै पदबाट हटाउने निर्णय गरेको थियो । रास्वपाले ढकालको पार्टी सदस्यता भने कायम राख्ने निर्णय गरेको छ ।
अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई संशोधन गर्दै कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।