पर्सा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला सहर केन्द्रित बसाइसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् ।
ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रो पोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मेट्रो पोलिस नीति बहस’ शीर्षकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त जानकारी दिँदै बसाइसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीतिको खाँचो औँल्याएका हुन् ।
निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते सञ्चालन भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयर राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रो पोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा सहभागी बनेका थिए ।
उनले सो बहसमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरू नजिक रहेका सहरहरूमा पुर्याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्नेमा जोड दिएका थिए ।
‘बसाइसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँ ठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ,’ उनले भनेका थिए ।
बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी शाहले गराएका थिए । प्रमुख शाह मेट्रो पोलिस निर्देशक बोर्डको सदस्य हुन् ।