संसद्को गतिरोध अन्त्य गर्न तीन दलबीच सहमति, रास्वपाले मानेन

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्ने भन्दै सत्तासीन एमाले, कांग्रेस र विपक्षी माओवादीबीच दुईबुँदे सहमति भएको छ ।

भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने र अध्यागमन कार्यालयमा विगतदेखि भएका बेथिति अन्त्यका लागि छानबिन समिति बनाउने सहमतिपत्रमा उल्लेख छ । तर, तीन दलबीच भएको सहमतिलाई अर्को विपक्षी रास्वपाले नमान्दा संसद्को अवरोध बिहीबार भने हट्न सकेन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको माओवादी उक्त मागबाट पछि हटेपछि तीन दलबीच सहमति भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गृहमन्त्रीको राजीनामा मुख्य विषय नभएको बताए ।

‘यो भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिहरूको बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा चाहिँ हामी सबै प्रतिपक्ष पुग्यौं,’ प्रचण्डले बिहीबार संसद् परिसरमा पत्रकारहरूसँग भने, ‘एक कदम हामी अघि बढ्यौं र छानबिनलगायत बारेमा लिखित सहमति गर्ने ठाउँतिर हामी गयौं ।’ तर, गृहमन्त्रीको राजीनामालाई मुख्य विषय बनाएको रास्वपाले भने समय माग गरेकाले संसद्को गतिरोध कायमै रहेको प्रचण्डले बताए ।

भिजिट भिसा प्रकरणमा अनियमितताको विषय सार्वजनिक भएपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले संसद् अवरोध गरिरहेका छन् ।

जेठ १५ गते बजेट भाषणका दिनबाहेक उनीहरूले लगातार अवरोध गरिरहेका छन् । संसद्को अवरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षबीच पटकपटक संवाद भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.