पर्सा । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा नै सरकार ढालेको भन्दै वेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गरे ।
लामिछानेले आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा आफू सहकारी ठग भनेर चिनिएको गुनासो गर्दै प्रमाणै प्रमाण बजारभरी भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी रहेको बताए ।
‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरी भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हल्ला सुनिएअनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे सुनेअनुसार । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने म तपाईँबाट यस्तै स्टन्टको अपेक्षा गर्छु । बाल मन्दिरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको नौ हजार जग्गाको अनुसन्धान सुरु भएको छ । पतञ्जलीको जग्गाको कामलाई अगाडि बढेको यसलाई अघि बढाउनुहोला, म तपाईँबाट यस्तो स्टन्टको अपेक्षा तपाईँबाट गर्छु,’ लामिछानेले भने ।