भारतको ओडिसास्थित KIIT विश्वविद्यालयमा नेपाली छात्राको शव भेटिएपछि आन्दोलन चर्कियो

भारतको ओडिसास्थित KIIT विश्वविद्यालयमा नेपाली छात्राको शव भेटिएपछि आक्रोशित विद्यार्थीहरूले न्यायको माग गर्दै आन्दोलन सुरु गरेका छन्।

पर्सा । ओडिसा राज्यको भुवनेश्वरस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत एक नेपाली छात्राको शव होस्टलको कोठामा फेला परेको घटनापछि विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ। मृतक २० वर्षीया प्रकृति लाम्साल कम्प्युटर साइन्समा बी.टेक. अध्ययन गर्दै थिइन्।

आईतबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी लाम्सालको मृत्युको खबरपछि आक्रोशित विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्। घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलन चर्किएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण खुल्न नसके पनि घटनालाई शंकास्पद मान्दै थप अनुसन्धान भइरहेको जनाइएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने रिपोर्ट आएपछि मात्र घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।

घटनापछि विश्वविद्यालय प्रशासनले गहिरो दुःख व्यक्त गर्दै आवश्यक अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। साथै, आन्दोलित विद्यार्थीहरूलाई शान्त रहन आग्रह गर्दै घटनाबारे अफवाहमा विश्वास नगर्न अपिल गरिएको छ।

नेपाली विद्यार्थीहरूको सुरक्षासँग सम्बन्धित यस घटनाले नेपाली समुदायमा चिन्ता बढाएको छ। नेपाली दूतावासलाई घटनाको निष्पक्ष छानबिनमा चासो दिन र मृतकको परिवारलाई न्याय दिलाउन पहल गर्न आग्रह गरिएको छ।

घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको र अनुसन्धान प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.