पर्सा । सत्तासाझेदार प्रमुख दुई दलका अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएकाे हाे ।
भेटमा एमाले अध्यक्ष ओलीले बजेटमा रहेका कतिपय विषय सच्चाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताइएकाे छ। अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए ।
साथै, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने लगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए । उनले भने ‘भेट राम्रो भयो ।’
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला भएको यो छलफललाई अर्थपूर्ण मानिएको छ ।