पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउने भएका छन् । दाहाल पछिल्लोपटक मन्त्री भएयता श्रेष्ठ निरन्तर मन्त्री छन् ।
यसबीचमा उनले तीन मन्त्रालय चहारिसकेका छन् । सुरुमा रास्वपालाई गृह र एमालेलाई अर्थमन्त्री दिनुपर्ने भएपछि उनलाई उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री बनाइएको थियो । एमाले र रास्वपा सरकारबाट बाहिरिएपछि कांग्रेससँगको समीकरणमा बनेको सरकारमा उनी गृहमन्त्री बनेका थिए ।
पुनः कांग्रेससँगको समीकरण भत्काएर एमले–रास्वपासँगको समीकरणमा सरकार बनाएपछि रास्पपाले गृहमन्त्रीमा अडान लियो । रास्वपाको अडान र एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबका कारण श्रेष्ठलाई गृहबाट परराष्ट्रमन्त्रीमा सारियो ।
अहिले पुनः जनमत र नाउपालाई सरकारमा भित्र्याउनका लागि प्रधानमन्त्री दाहालले श्रेष्ठलाई आउट गर्न लागेका हुन् । श्रेष्ठ मात्र होइन, माओवादीका पुराना सबै मन्त्री फिर्ता गराउने प्रधानमन्त्री दाहालको तयारी छ ।
सरकारमा सहभागी हुन प्रधानमन्त्रीले गरेको आग्रहमा जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको बजेटपछि मात्रै सरकारमा आउने जवाफ दिएका छन् । असार १ गते प्रदेशको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यता छ । आज शनिबार परेकाले मधेसलगायत सबै प्रदेशको बजेट आइतबार सार्वजनिक हुँदै छ ।
आफैँ सरकारमा सहभागी हुने विषयमा भने राउतले सहमति जनाइसकेका छैनन् । आफू बाहिरै बस्ने मनस्थितिमा रहेको र पार्टीबाट कसलाई पठाउने भन्नेबारे छलफल गरेर तय गर्ने उनले बताएका छन् ।