पर्सा । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा प्रस्थान गरेकी छन्। महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्।
क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा उक्त बैठक आयोजना गरिएको छ । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुँदै छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। सम्मेलनमा परराष्ट्रमन्त्री राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
बैठकपछि मन्त्री राणा अमेरिका प्रस्थान गर्नेछिन्। महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै छ।
अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा मन्त्री राणा सहभागी हुनेछिन्।