नेपाल विद्युत प्राधिकरणले तीन महिनामा साढे आठ अर्ब नाफा कमायो

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको हो ।

पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको हो । सूचनाको हक सम्बन्धि कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालू आर्थिक वर्षको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ ।

आफ्नो स्वामित्वमा रहेका विद्युतगृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी सो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/०७८ मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो ।

गत आर्थिक वर्ष २०७८/०७९ मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गर्नुभयो । यो सामाचार ईमेज खबरबाट

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.